News & Events

ढुवानीमा भ्याटको प्रावधान बारे अन्तर्क्रिया (२०८० जेष्ठ ३२)

Program about vat on transportation1

मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको सभापतित्वमा आर्थिक विधेयक २०८० ले कर कानुनमा गरेको संशोधन सम्बन्धमा मकवानपुर जिल्लाका ढुवानी व्यवसायीहरुको सहभागितामा अन्तर्क्रिया तथा करदाता शिक्षा कार्यक्रम बिहीबार आयोजना गरिएको थियो । आन्तरिक राजश्व कार्यालय, हेटौंडाका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
संशोधित विधेयकले ढुवानी व्यवसायीहरु भ्याटमा अनिवार्य दर्ता हुनुपर्नेलगायतका प्रावधानले पारेको समस्या र समाधानको बारेमा छलफल गरिएको थियो । संशोधित विधेयकले पारेको समस्या बारेमा सहभागिहरुले आ—आफ्ना धारणासमेत राखेका थिए । ढुवानी व्यवसाय एकै ठाउमा अफिस राखी भ्याट रसिद त्यहीबाट मात्र जारी गर्ने भन्ने खालको व्यवसाय नभई बाहिर–बाहिर नै कारोवार हुने र एउटै व्यक्तिको एकभन्दा बढी सवारीसाधन हुदा भ्याट रसिद संचालनमा जटिलता हुने जस्ता विषयहरु कार्यक्रममा चर्चा गरिएको थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, कार्यसमिति सदस्यहरु कुल प्रसाद चौलागाई, तेजराज अधिकारी, कार्यसमिति सदस्य तथा कर संयोजक प्रदिप अर्यालको उपस्थिति रहेको थियो । त्यसैगरी नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नारायणी यातायात कम्पनी प्रालिका अध्यक्ष गोकर्ण पराजुलीका साथै नारायणी यातायात व्यवसायी संघका अन्य पदाधिकारी एवम् जिल्लाका ढुवानी व्यवसायीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

Program about vat on transportation11


आन्तरिक राजश्व कार्यालयका कर अधिकृत गुणराज भण्डारीले सहजीकरण गर्नुभएको कार्यक्रममा कर अधिकृतहरु मनिष कुमार महतो र अवधेस कुमार यादवले विधेयकमा भएका प्रावधानहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराईले समस्याहरुको समाधानका लागि आफ्नो कार्यालयको तर्फबाट सहजिकण गरिने र विभागबाट संशोधन गर्नुपर्ने विषयहरुमा लिखित अनुरोध आएमा समाधानको पहल गर्ने बताउनु भएको थियो ।