२०८० फागुन २०
मकवानपुर उद्योग वाणिज्य संघको टोली फागुन १५ गतेदेखि २० गतेसम्म बंगलादेशको भ्रमणमा रहेको छ । संस्थागत तथा व्यवसायिक सम्बन्ध विस्तारको उद्देश्यसहित टोली बंगलादेश गएको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको २२ सदस्यीय टोलीको भ्रमण अन्तर्गतको औपचारिक कार्यक्रम सम्पन्न भएको छ । मउवासंघका पूर्व अध्यक्ष तथा बंगलादेश नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष अरुणराज सुमार्गीले भ्रमण कार्यक्रम संयोजन गर्नुभएको थियो । भ्रमणको क्रममा बंगलादेश उद्योग वाणिज्य महासंघ, बंगलादेश नेपाल उद्योग वाणिज्य संघ, बंगलादेश महिला उद्योग वाणिज्य संघ र कक्स बजार उद्योग वाणिज्य संघका पदाधिकारीहरुसंग छुट्टाछुट्टै छलफल कार्यक्रम भएको थियो ।
मउवासंघबाट सहभागिता जनाएका प्रतिनिधिहरुले बंगलादेश उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसंग सहकार्यका सम्भावनाहरु बारे बृहत छलफल भएको मउवासंघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताएका छन् । बंगलादेश र नेपालबीच सहकार्य र सम्भावना बोकेका व्यवसायको व्यापार सम्बन्ध विस्तार गर्नुपर्ने छलफल गरिएको थियो ।
बंगलादेशमा रहेका विभिन्न उद्योग वाणिज्य संघसंग अनुभव आदानप्रदान गर्दै व्यापार विस्तार गर्न सहज वातावरण बनाउनु पर्ने विषयमा छलफल गरिएको थियो । नेपालबाट गएको टोली, ढाकास्थित बंगलादेश महिला उद्योग वाणिज्य संघको कार्यालयसमेत पुगेको थियो । बंगलादेशकी पूर्व सांसद समेत रहेकी सेलिमा अहमद अध्यक्ष रहेको महिला उद्यमीहरुको संस्थाले बंगलादेशभित्र ५० हजार भन्दाबढी महिलालाई आवद्ध गराइ उद्यमी बनाइ सामाजिक रुपान्तरणको अनुकरणीय नमुना कामहरु गरिरहेको उक्त संस्थाका उपाध्यक्ष संगीता अहमदलले बताउनु भएको थियो ।
नेपाल र बंगलादेशबीच हस्तकला, कृषिउपज, कपडा, प्रविधि हस्तान्तरण आदि क्षेत्रमा सहकार्य भइरहेको तर उच्च भन्सार दर एवम् भारतीय नाका प्रयोगले उच्च प्रतिफल हासिल नभएको चर्चा गरिएको थियो ।
बंगलादेश उद्योग वाणिज्य महासंघका अध्यक्ष महतुबुल आलमले मउवासंघको टोलीलाई स्वागत गर्नुहुदै नेपालको विद्युत बंगलादेशमा निर्यात गर्न आवश्यक भएपनि भूराजनीति बाधक रहेको र महासंघले निजीक्षेत्रको सहकार्यमा नेपालस्थित विभिन्न जलविद्युत परियोजनामा सम्भावित लगानीका बारेमा छलफल भइरहेको बताउनु भएको थियो । दुई देशको सम्बन्ध प्रगाढ बनाउन यस्ताखाले भ्रमण, भेटघाट र छलफल नियमित भइरहनुपर्ने उहाले बताउनुभएको थियो ।
छलफलको क्रममा बंगलादेश उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष मोहम्मद अमिन हिलेलीले हिमालयन वाटर, अदुवा, गोलभेडा तथा दुधजन्य उत्पादन नेपालबाट निर्यातको सम्भावना रहेतापनि बंगलादेशको उच्च भन्सार दरको कारण यसले गति लिन नसकेको बताउनु भएको थियो । महासंघले दुबै देशको निजी क्षेत्रको विकासको लागि भन्सारदर परिवर्तन गर्न पहल भइरहेको समेत बताउनुभएको थियो ।
भ्रमण टोलीले बंगलादेशको प्रमुख पर्यटकीय क्षेत्र कक्स बजारस्थित कक्स बजार उद्योग वाणिज्य संघसंग पनि छलफल गरेको थियो । करिब १५० किलोमिटर लामो तटीय पर्यटकीय क्षेत्रको रुपमा कक्स बजार रहेको छ । मउवासंघ र कक्स बजार उवासंघबीच फागुन महिनाको अन्त्यतिर भावी सहकार्यको लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने प्रारम्भिक छलफल गरिएको मउवासंघका अध्यक्ष गुप्ताले बताउनु भएको छ । टोलीले बंगलादेशको गौरवको आयोजनाको रुपमा रहेको र सञ्चालनमा समेत आइसकेको ६.१५ किलोमिटर लामो पुलको अवलोकन गरेका थिए ।
भ्रमण टोलीमा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ता, संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, सल्लाहकार सरोज खनाल, अशोक शाक्य, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोद सिंह रानाभाट, महासचिव दिपक उप्रेती, सचिव राजाराम कार्र्की, सदस्यहरु दिवस पराजुली, कुलप्रसाद चौलागाई, तेजराज अधिकारी, नेत्रप्रसाद खतिवडा, प्रदीप अर्याल, सीतादेवी भेटुवाल, जगदिश दहाल, कृष्णराज कोइराला, पेट्रोलियम बिक्रेता संघका अध्यक्ष उत्सव इटेनी, क्यान मकवानपुरका अध्यक्ष शिवकुमार श्रेष्ठ, भांडा व्यवसायी संघका अध्यक्ष रामकृष्ण चौलागाई, नारायणी यातायात व्यवसायी संघका विष्णु विडारी, महिला उद्यमी विकास समितिका कोषाध्यक्ष सुनिता श्रेष्ठ हाडा र संघका कार्यकारी निर्देशक सुजन सुवेदी रहेका छन् ।
Add Comment