
जिल्ला प्रशासन कार्यालय मकवानपुरका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेलसंग समसामयिक विषयमा छलफल कार्यक्रम गरिएको छ । मकवानपुर जिल्लामा भर्खरै पदभार सम्हाल्न आइपुग्नु भएका प्रजिअ श्रेष्ठ र सहायक प्रजिअ कडेललाई संघमा स्वागत गर्दै छलफल कार्यक्रम गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का, संघका पूर्व अध्यक्षत्रय केशव श्रेष्ठ, उत्तमशर्मा ढकाल र अरुणराज सुमार्गी, संघका पदाधिकारी तथा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले प्रजिअ श्रेष्ठलाई स्वागत गर्नुहुदै संघको कार्यसमितिमा महिलाको प्रतिनिधित्व सात जनाको रहेको बताउनुभयो । मउवासंघको तर्फबाट सबैसंग सहकार्य गर्दै अघि बढ्न चाहेके, व्यापार मन्दी कै आवश्थामा रहेकाले परिस्थितिलाई बुझी बैंकहरु सहिष्णु देखिनुपर्ने, लागू औषध नियन्त्रण, सिटिइभिटी र निर्माण कम्पनीबीचको विवाद मिलाउन आवश्यक रहेको, बजार अनुगमन सहकार्यमा गर्न आवश्यक रहेको उहाको धारणा थियो ।
संघका पूर्वअध्यक्ष उत्तमशर्मा ढकालले संघको वि.सं. २०२३ सालमा विधिवत स्थापनाको पृष्ठभूमि बताउनुहुदै शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा संघले पु-याएको योगदानको चर्चा गर्नुभएको थियो । उहाले बजारमा पछिल्लो समय चोरीको श्रृङ्खला बढेकाले सुरक्षा व्यवस्था कायम गर्न चनाखो हुन आवश्यक रहेको बताउनुभएको थियो । विभिन्न निकायबाट तारन्तार बजार अनुगमन गर्दा व्यवसायी हतोत्साही हुनसक्ने अवस्थालाई मध्यनजर गरी एकद्धार प्रणालीबाट अनुगमन गर्नुपर्ने उहाको धारणा थियो । संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गीले भारतको कुम्भ मेलामा जादा त्यहा पाएको सम्मानपूर्ण व्यवहारको चर्चा गर्नुहुदै हेटौंडा बजारमा आएका ईन्डियन गाडीलाई भने पैसा उठाउनकै लागि बसपार्क पु-याउनू गलत भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले शुभकामना तथा शुभेच्छाको लागि धन्यवाद ज्ञापन गर्नुहुदै अर्थतन्त्रमा निजीक्षेत्रले योगदान गर्नसक्ने, राष्ट्र निर्माणमा निजीक्षेत्रको महत्वपूर्ण भूमिका रहने उहाको भनाई थियो । बजार अनुगमन नागरिकको हितको लागि आवश्यक भएकाले विभिन्न तहको सरकारी निकायहरुबाट अनुगमन गर्नु परेको बताउनुभयो । तर बजार अनुगमन व्यवसायीलाई ह्यारेसमेन्ट नहुनेगरी हुनुपर्ने उहाको भनाई थियो । सडक दुर्घटना, लागूऔषध दुव्र्यशन, चोरी जस्ता घटनाहरु न्यूनिकरण गर्न प्रविधिमैत्री निगरानी आवश्यक रहेको बताउनुहुदै निजी क्षेत्रका उत्तम प्रस्तावहरु आएमा सहकार्य गर्दै समाधान खोजिने बताउनुभयो । त्यसैगरी उहाले उद्योगी/व्यवसायीका धारणाहरु थप बुझ्न जिल्ला प्रशासन कार्यालयमै निकट भविष्यमै एक कार्यक्रम आयोजना गर्ने बताउनुभयो ।

कार्यक्रममा संघका महासचिव प्रतिमा श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दिपक उप्रेतीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
Add Comment